English
शिक्षा तथा संस्कृति

२ लाखबढी नक्कली विद्यार्थी बनाएर भ्रष्टाचार, सरकारले बनायो छानबिन समिति

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
२ लाखबढी नक्कली विद्यार्थी बनाएर भ्रष्टाचार, सरकारले बनायो छानबिन समिति

काठमाडौं-

विद्यालयहरुले नक्कली विद्यार्थी देखाएर अनियमिमता गरेको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिनका लागि समिति बनाएको छ ।

२ लाखभन्दा बढी नक्कली विद्यार्थी बनाएर भ्रष्टाचार भएको खुलेपछि विद्यार्थीका विवरणहरू दोहोरिएका छन्।

प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल तथा विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मी सम्मिलित समिति गठन गरी छानबिन अघि बढाएको मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

समितिले सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्नेछ ।

राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोषाक, पाठ्यापुस्तक तथा अन्य सेवा–सुविधाको दुरुपयोग भएको खुलेपछि मन्त्रालयले छानबिन अघि बढाएको शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले बताए।

’हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौँ। यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ। अब यसबारे थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ,’ मन्त्री पोखरेलले भने।

गठित समितिले इ–एमआईएस प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको प्राविधिक कमजोरी वा नियतवश गरिएको बद्मासीबारे विस्तृत अध्ययन गर्नेछ। गलत तथ्याङ्क पेश गरेर राज्य कोषको दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने स्पष्ट कार्यादेश समितिलाई दिइएको छ।

शिक्षा तथा संस्कृति मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स