
विराटनगर––
भोजपुरको हथुवागढीबाट यात्रु लिएर सुनसरीको चतरा फर्कंदै गरेको विद्युतीय डुंगा (स्टिमर) अरुण र दुधकोसी नदीको संगमस्थलमा दुर्घटना हुँदा आइतबार बेपत्ता भएका ३ जनाको पहिचान खुलेको छ । नदीमा बेपत्ता भएकामा झापा कनकाई–४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरी बराहक्षेत्र–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र–१ की ५२ वर्षीया लिला राई, करिब ६÷७ वर्षीया एक बालिका र अन्दाजी ४०÷५० वर्षका एक पुरुष रहेको प्रहरीले जनाएको छ ।
१५ जना बोकेको डुंगा अरुण नदीमा इन्जिन अफ भई अनियन्त्रित भै अरुण र दुधकोशीको संगमस्थलमा पुगेपछि पल्टिएकोमा तुरुन्तै प्रहरीले १२ जनाको उद्धार गरेको थियो ।



