
काठमाडौँ-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो भारत जान लागेको प्रधानमन्त्री वालेन्द्र शाहले त्यहाँ भारतीय राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषयहरू समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू)समेत आदानप्रदान गरिनेछन् । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुनेछ ।
भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नेछन् ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेश फोरमको छलफल कार्यक्रम आयोजना गरिनेछ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने र नेपाल सरकारकोतर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ ।



