English
मुख्य समाचार

प्रधानमन्त्री शाह भारत प्रस्थान

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
प्रधानमन्त्री शाह भारत प्रस्थान

काठमाडौँ-

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दिउँसो २:०५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली गएका हुन् ।

प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता जगदीश खरेलले बिदाइ गरे । उनको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, सल्लाहकारहरू, सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटघाट गर्नेछन् । त्यस्तै, भोलि मङ्सिर ७ गते समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । सोही अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल र ऊर्जा सहकार्यका विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशका नेताहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा र पूर्वाधार विकासमा सहकार्य बढाउनेबारे छलफल हुनेछ । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रम छ ।

भ्रमणको पहिलो दिन आज भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले प्रधानमन्त्री शाहसँग भेट गर्नेछन् । भोलि सोमबार उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

प्रधानमन्त्री शाह भ्रमण सकेर मङ्सिर ७ गते साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको उडानबाट स्वदेश फर्किने तालिका छ ।

मुख्य समाचार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स