English
अर्थ संसार

बढ्यो निर्यात्,तीन महिनामै ५० प्रतिशत बढी

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
बढ्यो निर्यात्,तीन महिनामै ५० प्रतिशत बढी

काठमाडौं-

पछिल्लो तीन महिनामा मुलुकबाट हुने निर्यात् बढेको छ । सरकारको तथ्याँक अनुसार गत वर्षको सोही अवधिको तुलनामा निर्यात् ५० प्रतिशत बढीले वृद्धि भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३\८४ को पहिलो तीन महिना (साउन–असोज) को तथ्याङ्कअनुसार नेपालको वस्तु निर्यात ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

यस अवधिमा नेपालको कुल निर्यातमा आन्तरिक उत्पादनको हिस्सा पनि प्रमुख रुपमा रहेको छ । अलैँचीको हिस्सा २.२५% (रु. २ अर्ब ५७ करोड) र जुट उत्पादनको हिस्सा २.५९% (रु. २ अर्ब ९६ करोड) रहेको छ । त्यस्तै, गलैँचा तथा टेक्सटायल उत्पादनहरूको योगदान ३ अर्ब ७२ करोड रहेको छ ।

पछिल्लो तीन महिनामा ५७ प्रतिशतभन्दा बढीको आकर्षक वृद्धि भए पनि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५.०२ प्रतिशत मात्रै रहेको छ । निर्यातमा सबैभन्दा ठूलो योगदान वनस्पति तेल (विशेष गरी सोयाबिन तेल, जुन ५२ अर्ब ६० करोड रुपैयाँ बराबरको छ), जुट र अलैँचीको रहेको छ ।

त्यसैगरी, निर्यातसंगै आयात पनि बढेको छ । चाडबाडको मागका कारण आयात पनि ३८.१८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै इन्धन (डिजेल, पेट्रोल, ग्यास) र कच्चा पदार्थ आयात भएको छ ।

आयात र निर्यात्संगै व्यापार घाटा पनि बढेको छ । व्यापार घाटाको चुनौति बढेको विभागले जनाएको छ । आयातको आकार निकै ठूलो भएकाले निर्यात बढ्दा पनि मुलुकको व्यापार घाटा ३४.७१ प्रतिशतले वृद्धि भई ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

अर्थ संसार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स