सुशासन र आर्थिक रूपान्तरणबाट मात्रै समृद्धि सम्भव- अर्थमन्त्री

विराटनगर-
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मात्रै मुलुकमा समृद्धि आउन सक्ने बताएका छन् ।
विराटनगरमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा सरकारले ग्रहण गरेको बताए ।
अर्थमन्त्री डा. वाग्लेले कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा सरकारको आधारभूत जिम्मेवारी रहेको बताए । असुरक्षाको अनुभूति भए सरकारले सम्बोधन गर्ने र समान अवसर तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउने उनले बताए ।
अर्थमन्त्री डा. वाग्लेले आगामी चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्ने महत्वपूर्ण अवधिका रूपमा लिइएको जानकारी दिए । निजी क्षेत्रको सहकार्यमा सरकारले सुधारको गति बढाउँदै गर्दा निजी क्षेत्रले पनि नयाँ उद्योग, क्षमता विस्तार, आधुनिक प्रविधि, कृषि प्रशोधन, ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका योजना अघि बढाउनुपर्ने उनको भनाई थियो ।
पूर्वी नेपाल तथा विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताको अवसरसँग जोड्दै कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई औद्योगिक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने मन्त्री डा. वाग्लेले बताए ।



