
काठमाडौं-
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तन वातावरणीयमात्र नभई गम्भीर स्वास्थ्य सङ्कटसमेत भएको बताएकी छन् । उनले जलवायु परिवर्तनसम्बन्धी छलफल र कार्ययोजनाको केन्द्रमा मानव स्वास्थ्यलाई राख्नुपर्नेमा जोड दिएकी छन् ।
जलवायुसम्वन्धी विश्व सम्मेलनको साइडलाइन कार्यक्रम नेपाल पेभिलियनको उद्घाटन कार्यक्रममा मन्त्री मेहताले जलवायु परिवर्तनले खाद्य तथा पानीको सुरक्षा, रोगको जोखिम, मातृ तथा बाल स्वास्थ्य र जोखिममा रहेका समुदायको जीवनमा प्रत्यक्ष असर पारिरहेको बताइन ।
जलवायु उत्थानशील स्वास्थ्य प्रणालीको विकास, दिगो स्वास्थ्य पूर्वाधार, प्रभावकारी पूर्वसूचना प्रणाली तथा जलवायु जोखिममा रहेका मुलुकका लागि अन्तर्राष्ट्रिय सहकार्य, वित्तीय सहयोग र प्रविधि हस्तान्तरण आवश्यक रहेको उनको भनाई छ ।