English
कृषि तथा उत्पादन

कञ्चनपुरमा धान उत्पादन वृद्धि हुने

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
कञ्चनपुरमा धान उत्पादन वृद्धि हुने

महेन्द्रनगर-

कञ्चनपुरमा यस वर्ष धान राम्रो फलेकोले उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरिएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउँदले यस वर्ष कञ्चनपुरमा १ दशमलव १९ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो । गत वर्ष धानको उत्पादकत्व ४ दशमलव २ प्रति हेक्टर रहेकोमा यस वर्ष उत्पादकत्व वृद्धि भएर ४ दशमलव २५ पुगेको छ ।

सूचना अधिकारी साउँदले यस वर्ष मौसम अनुकुल हु्नु, उन्नत जातको बीउ बिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताउनु भयो । यस वर्ष कञ्चनपुरमा दुई लाख छ हजार १०८ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसअघि कञ्चनपुरमा धानको उत्पादन एक लाख ९३ हजार ९८४ मेट्रिकटन रहेको थियो । कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

पछिल्लो समय कृषिमा प्रयोग हुने कृषि उपकरण र उन्नत बीउको उपलब्धताले खेती गर्न सहज भएको किसानहरुले बताउनु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाका राजेश्वरी जोशीले नहरबाट सिँचाइ उपलब्ध नभएको ठाउँमा ज्ञान केन्द्रबाट आउने साना सिँचाइ (ट्युबेल)ले राहत भएको बताए ।

कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।

कृषि तथा उत्पादन मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स