
काठमाडौं-
यती एयरलाइन्सले युवराज विष्टलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।
एयरलाइन्स व्यवस्थापनले आजैदेखि लागू हुने गरी नयाँ सीईओ नियुक्त गरेको जनाएको छ । यसअघिका सीईओ सुवास सापकोटाको कार्यकाल पूरा भएसँगै विष्टले जिम्मेवारी पाएका हुन्।
सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यती एयरलाइन्समा प्रवेश गरेका विष्टसँग उड्डयन क्षेत्रमा १७ देखि १८ वर्ष लामो अनुभव रहेको छ । सीईओ नियुक्त हुनुअघि उनी कम्पनीको प्रमुख व्यवसाय अधिकृत (चिफ बिजनेस अफिसर) र एकाउन्टेबल म्यानेजरका रुपमा कार्यरत थिए ।
व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका विष्ट रणनीतिक व्यावसायिक योजना, कर्पोरेट सुशासन, व्यवसाय विकास र कार्यसम्पादन व्यवस्थापनमा दक्ष मानिन्छन्।
यसअघिका सीईओ चार्टर्ड एकाउन्टेन्ट सुवास सापकोटाले करिब ३ वर्ष १ महिना यती एयरलाइन्सको नेतृत्व सम्हालेका थिए । आफ्नो कार्यकालमा उनले कम्पनीको अनावश्यक खर्च कटौती गर्दै वित्तीय अवस्था सुधार गर्न, व्यवस्थापनलाई चुस्त बनाउन र कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउन मुख्य भूमिका खेलेको यती एयरले जनाएको छ ।



