प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच के के कुरा भयो ?

काठमाडौं-
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता मूलतः प्रधानमन्त्री शाहको भारत भ्रमण तयारीमा केन्द्रित थियो ।
भेटवार्तामा के के कुरा भयो त ? यहाँ बुँदागत रुपमा जानकारी दिने प्रयास गरेका छौं ।
१, प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे ।
२, प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाउनुभएकोमा समेत आभार व्यक्त गरे ।प्रधानमन्त्रीले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राखेका थिए ।
३, भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराए ।उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी आफूहरुले तयारी गरिरहेको जानकारी गराएका थिए ।
४,भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताए ।
५,भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको उनले प्रधानमन्त्री शाहलाई जानकारी गराए ।
६,आजै उक्त मार्गमा रेल परीक्षण सञ्चालन समेत भएको सचिव मिस्रीले प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए ।



