
काठमाडौं-
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालस्थित चीनियाँ राजदूत झाङ माओमिङबीच बिहीबार भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले काठमाडौंसँग सबैभन्दा नजिकको तातोपानी नाका तत्काल खुलाउन आग्रह गरेका छन् ।
उनले रसुवा–भोटेकोशी क्षेत्रको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदमा अन्य उच्च हिमाली नाकाहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्थामा तातोपानी नेपालका लागि प्रमुख विकल्प भएको बताए ।
त्यस क्रममा राजदूत झाङ माओमिङले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायहरूसँग समन्वय गरी पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
भेटमा बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, बहुपक्षीयता र आपसी हितका विविध विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



