
काठमाडौँ
आज देशका विभिन्न पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागले बिहीबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने देखिएको हो।
विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने छ। बागमती प्रदेशअन्तर्गत पर्ने काठमाडौँ उपत्यका र आसपासका पहाडी क्षेत्रहरूमा पनि आंशिक बदली भई हल्का वर्षाको सम्भावना रहेको विभागको प्रक्षेपण छ।
यसैगरी, आज राति पनि देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। तर, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेकाले चिसो बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।



