
नयाँदिल्ली-
उत्तरी भुटानको गासा जिल्लास्थित सिन्टाफु हिमताल विष्फोटसंगै बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएपछि भारतको केन्द्रीय जल आयोगले सम्भावित जोखिमलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल र असमका लागि विशेष सतर्कता जारी गरेको छ ।
आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा पानीको सतह अचानक बढ्न सक्ने चेतावनी दिँदै सङ्कोश नदीको जलस्तर निगरानी गर्न र सावधानी अपनाउन स्थानीय अधिकारीहरूलाई आग्रह गरेको छ ।
भुटानमा हिमताल विष्फोटसंगै बाढीले पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनापछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन र जोखिमको मूल्याङ्कन गरिरहेका छन् ।
लयाको दुर्गम बस्ती जोड्ने सडकमा क्षति पुगेको थियो । राजमार्गको करिब ३१.८५ किलोमिटर खण्ड बगेपछि अर्को सूचना जारी नभएसम्म यातायात बन्द गरिएको छ । यात्रुलाई अत्यावश्यक नभए यात्रा स्थगित गर्न आग्रह गरिएको छ ।
सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने चेतावनी साइरन बजाइएको छ । मानवीय क्षति भएको खबर भने नभएको भुटान डेलीले जनाएको छ ।



