
काठमाडौँ-
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सन्दीप लामिछानेको ६ विकेटको मद्दतले विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १ सय ३२ रनमा रोकेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७ दशमलव पाँच ओभरमा १ सय ३२ रनमा अलआउट हुँदा विराटनगरले १ सय ३३ रनको चुर्नाति पाएको हो ।
पोखराका लागि ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेले । उनले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रनको पारी खेलेका हुन् ।
यस्तै, धनन्जय लक्षणले २२ र सनि बिकेले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । विराटनगर किङ्सका लागि बलिङतर्फ उत्कृष्ट बलिङ गरे ।
सन्दीप लामिछानेले सर्वाधिक छ विकेट लिँदा चार ओभरमा २७ रन दिए ।
यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए । प्लेअफ सम्भावना जीवित राख्न पोखरा र विराटनगर दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ ।
छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेल खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ । तालिकाको आठौँ स्थानमा रहेको पोखराले भने पाँच खेलमा चारमा हार र एक खेलमा मात्र जित दर्ता गरेको छ ।
आजै हुने अर्को खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन् । खेल अपराह्न ५ः०० बजे हुनेछ ।



